दीपक र दीपाले नयाँ फिल्म घोषणा गरे ‘छ माया छपक्कै’
काठमाडौं , चैत २६ । कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्मको नाम घोषणा गरेका छन्।
सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हो।
रोहित अधिकारीसँगको सहकार्यमा उनीहरुले बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ । जुन फिल्मको नाम ‘छ माया छपक्कै’ ।
दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ ।
२२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् ।
‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनले जानकारी दिए ।
यो फिल्म दीपकको टिमले ५० प्रतिशत मुनाफा लिने सहमति भएको छ । तर लगानी भने पुरै रोहित अधिकारीले गर्नेछन् । फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ । फिल्ममा दीपक शर्माको संगीत रहनेछ ।
फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टको काम ब्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्