राप्रपाको धर्नामा प्रहरी हस्तक्षेप: झडपमा प्रहरीले बर्सायो लाठी , दुई दर्जन कार्यकर्ता घाइते (फोटोसहित)

काठमाडौं, चैत २५ । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार राजधानीको रत्नपार्कबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै पद्मोदय मोडमा पुगेर धर्ना तथा कोणसभामा परिणत भएको थियो ।

शान्तिपूर्ण धर्ना चलिरहेकै बेला प्रहरीले प्रदर्शनकारीहरुलाई उठाउँदै ट्राफिक अघि बढाउन खोजेपछि झडप भएको थियो ।

अध्यक्ष कमल थापा टाटामोबाइलमाथि चढेर कार्यकर्तालाई सम्बोधन गरिरहेकामा प्रहरीले उनी चढेको टाटामोबाइलको साँचो खोसेर अघि बढाएको थियो ।

राप्रपा कार्यकर्ताले घेराउ गरी थापालाई प्रहरीबाट खोसेका थिए ।

झडपपछि थापाले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकारले देशलाई मुठभेडमा लैजान चाहेको आरोप लगाए ।

झडपमा परी राप्रपाका दुई दर्जन बढी कार्यकर्ता र केही सन्चारकर्मीहरुसमेत घाइते भएका छन् ।

घाइतेहरुको बागबजारस्थित काठमान्डु मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्