खटाएको स्थानमा जान सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्री यादवको आग्रह

काठमाडौं चैत्र २५ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै स्वास्थ्यमन्त्री यादवले भने, ’सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पुर्‍याउनुहोस, त्यसपछि तपाईंलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ ।’

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि संघमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक संघ (गोदान)सँग स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै यति बेला सरकारी चिकित्सक संघमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

सेवा ठप्प हुदा बिरामी बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्