चौथौ दिन पनि खुलेन सरकारी अस्पतालको ओपिडी: बिरामी बिचल्लीमा
काठमाडौँ, चैत २५ । सरकारी चिकित्सकहरुको आन्दोलन आज चौथो दिनपनि जारी छ ।
जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।
कर्मचारी समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्तर्गत नै राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
चिकित्सकहरुले सरकारी अस्पतालमा शुक्रबारयता अत्यावाश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनरत छन् । चार दिनसम्म पनि आफ्नो मागप्रति सरकारले चासो नदिएको उनीहरुको भनाई छ ।
सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् ।
मुलुकमा १५ हजार चिकित्सक अपुग भइरहेका बेला भएका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र यो वा त्यो बहानामा अस्तव्यस्त बन्दै जान थालेको गुनासो बढ्न पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले चिकित्सकको माग सम्बोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्