ओत लाग्ने ठाउँको खोजीमा भौंतारिदै बाराका प्रभावित : पानी र हावाहुरीले थप पीडित र त्रसित

काठमाडौं, चैत २३ । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका हावाहुरी प्रभावित थप पीडित र त्रसित बनेका छन् ।

कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्‍याएपछि उनीहरु थप पीडामा परेका हुन् ।

बिहानदेखि परेको पानीका कारण राहत वितरणकार्यसमेत प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

पीडितहरु पानीले त्रिपाल र टेन्ट ढलेको र बिगारेको कारण ओत लाग्ने ठाउँको खोजीमा भौंतारिएका थिए ।

तर, हावाहुरीले असर पुर्‍याएको जिल्लाका ८ स्थानीय तहका गाउँहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली टेन्ट र त्रिपालको व्यवस्थापन गर्न जुटेका कारण अवस्था सामान्य बन्दै गएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्