देशभरि सोमबारसम्म मौसम प्रभावितः ‘तराईमा हावाहुरी चट्याङसहित वर्षा’- सचेत रहन मौसमविद्को सुझाव

काठमाडौं, चैत २३ । काठमाडौं उपत्यकासहित देशभर शनिबार बदली भइ वर्षा भएको छ ।

स्थानीय न्यूनचापीय वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।

कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ । योक्रम तीन दिनसम्म लम्बिनसक्ने मौसमविद्हरुले बताएका छन् ।

गत साता बारा र पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएपछि त्यसको त्रास कायमै रहेका बेला शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्य हावाहुरी र मेघगर्जनसहित पानी परेको छ ।

एक्कासि मौसम बिग्रिएर बिहानै अँध्यारो भएपछि कतिपय मानिस त्रसितसमेत भए । मेघगर्जनसहित छिनछिनमा पानी पर्ने र रोकिनेक्रम दिनभरजसो नै चलिरह्यो ।

स्थानीय र पश्चिमी वायु सक्रिय भएका कारण हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् विभूति पोखरेलले काठमाडौंको मौसममा केही सुधार भएपनि अझै केही दिन हल्कादेखि मध्यमखालको वर्षा भइराख्ने जानकारी दिइन् ।

उनले सतहमा पूर्वी वायु र माथिल्लो वायुमन्डलमा पश्चिमी वायु चलेकाले देशका अधिकांश भागमा वर्षा हुनसक्ने जानकारी दिइन् ।

उनले आउँदो सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने बताइन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले हावाहुरी र मध्यम वर्षा भएको मौसमविद्हरुको भनाइ छ ।

मार्च महिनाबाट प्रि–मनसुन सुरु हुने भएकाले पनि अहिले काठमाडौं उपत्यकालगायत देशभर नै बदली भइ पानी परेको मौसमविद् पोखरेल बताउँछिन् ।

विशेषगरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाले सुझाव दिएको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त यो वायु नेपालमा अझै केही दिन रहनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्