प्रदीप र जसिताको ‘लभ स्टेशन’आजबाट प्रदर्शनमा
काठमाडौं, चैत २२ । आजदेखि चलचित्र लभ स्टेशन प्रदर्शनमा आएको छ । चलचित्र लभस्टेशनलाई यस वर्षको प्रतिक्षित चलचित्रहरु मध्यको एक मानिएको छ ।
चलचित्रको व्यापारमा आएको खडेरीलाई केही हदसम्म ‘लभ स्टेशन’ले लयमा ल्याउने आश धेरैमा छ । एकल रिलिजको अवसरको फाइदासमेत चलचित्र ‘लभ स्टेशन’लाई मिलेको छ ।
यस चलचित्रका २ वटा गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रलभ स्टेशन सांगीतिक लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र लभ स्टेशनमा अभिनेता प्रदीप खड्काको पनि लगानी रहेको बताइएको छ ।
चलचित्रको टिकट बुकिङ पनि उच्च रहेको निर्देशक उज्वल घिमिरेले बताए ।
दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ ।
चलचित्र निर्माण युनिटले ‘लभ स्टेशन’ हेर्नका लागि अग्रिम टिकटको व्यवस्थासमेत गरेको थियो । चलचित्रले काठमाण्डौका मल्टिप्लेक्स तथा सिंगल हलमा धेरै शो पाएको छ ।
चलचित्रले राजधानीमा सर्वाधिक १९ शो पाएको छ । यो भुवन केसीको चलचित्र क्याप्टेनको भन्दा धेरै हो । चलचित्र क्याप्टेनले राजधानीका मल्टिप्लेक्स हलमा जम्मा १७ शो पाएको थियो ।
चलचित्रको निर्देशन निर्देशक उज्जवल घिमिरेले गरेका हुन् । चलचित्रको निर्माण गोविन्द शाहीले गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
प्रदीप र जसिताको अलावा चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोललगायतको अभिनय रहेको छ ।
चलचित्र लभ स्टेशन काफिया फिल्मसको व्यानरमा निर्माण गरिएको हो । काफिया शाही र कविर विक्रम शाही चलचित्रको निर्माता हुन् ।
प्रतिक्रिया दिनुहोस्