जिल्ला प्रशासनले हावाहुरी पीडितको विवरण गृहलाई बुझायो

काठमाडौँ, २० चैत । आइतबार साँझ आएको विनासकारी हावाहुरीबाट क्षती भएकाहरुको विवरण जिल्ला प्रशासन कार्यालय बारा र पर्साले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको छ । प्रारम्भिक विवरण अनुसार बारा र पर्सा जिल्लामा १८ सय ९५ घरमा क्षति पुगेको छ । यो प्रारम्भिक विवरण मत्र हो ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ । साथै ९ सय ५५ घरमा भने आंशिक क्षति पुगेको विवरण्मा उल्लेख छ ।

विवरण अनुसार हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा र्पुयाएको छ । त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो।

गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ । जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु रहेका छन् । मृत्यु हुनेमा २३ जना नेपाली नागरिक छन् भने ४ जना भारतीयको पनि ज्यान गुमाएका छन् । समानरुपमा पीडितले उचित क्षेत्र नपाएको पनि गुनासोहरु आएको छन् ।

प्रतिक्रिया दिनुहोस्