सरोकारवालाहरुले सरकारलाई भने- नागरिकता विधेयक फिर्ता लिनुस् , अहिलेको यो विधेयक हामी मान्दैनौं’

काठमाडौँ, चैत १९ । नागरिकता विधेयक फिर्ता लिन विभिन्न सरोकारवालाहरुको माग गरेका छन् । नागरिकता ऐन संशोधन विधेयक–२०७५ को विरोधमा काठमाडौंको शान्ति बाटिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी वक्ताहरुले विधेयकमा विदेशीहरुलाई नेपाली नागरिकता दिन खुकुलो व्यवस्था गरेको भन्दै उक्त विधेयक फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा पूर्व सचिव द्वारिकानाथ ढुंगेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राजमोका नेता चित्रबहादुर केसी, नेकपा मालेका नेता सीपी मैनाली लगायत सहभागी थिए । उनीहरुले विधेयकमा भएका राष्ट्रघाती पक्षहरुको व्याख्या गरेका थिए ।

‘यो विधेयक ऐन बने लाखौंलाख विदेशीले नेपाली नागरिकता लिनेछन् र नेपालले सिक्किम र फिजीको दुर्दशा भोग्नुपर्नेछ’ नेता चित्रबहादुर केसीको भनाई छ ।

संघर्ष समितिले चैत १० गतेदेखि देशव्यापी रुपमा हस्ताक्षर संकलन पर्चा वितरण, सांसदहरुलाई ध्यानाकर्षणलगायतका विरोधका कार्यक्रम गर्दै चैत १९ गते विज्ञहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

समितिले चैत २४ गते माइतीघर मण्डलामा विधेयकको भण्डाफोर गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्