अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुन्छ: प्रमुख आयुक्त घिमिरे

काठमाडौं, चैत १९ । अब नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवालाको सम्पत्ति छानबिन हुने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा राजनीतिक नेतादेखि उच्चपदस्थ कर्मचारी र पूर्वपदाधिकारीसमेत रहेको बताएका छन्

सामान्य घुसका पछि लागेको भन्दै अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकूत सम्पत्ति आर्जन गर्ने पहुँचवालाहरुमाथि पनि छानबिन थालिएको घिमिरेले ‘आजको समितिमा जानकारी दिएका हुन् ।

अख्तियार चुप लागेर नबसेको भन्दै अकूत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन भइरहेको उनले बताए ।

अख्तियार नेतृत्वमाथि कसैको दबाब नरहेको दाबी गर्दै घिमिरेले दोषी कसैलाई पनि नछाडिनेसमेत बताए ।

अख्तियार हजारको घुसको पछि लाग्ने गरेको तर अर्बौं राज्यकोष लुट्नेले उन्मुक्ति पाउँदै गरेको सन्दर्भमा सांसदहरुले जिज्ञासा राखेपछि प्रमुख आयुक्त घिमिरेले यससम्बन्धी जानकारी दिएका हुन् ।

अख्तियार कसैको दबाब र प्रभावमा नपर्ने भन्दै प्रमुख आयुक्त घिमिरेले अनुसन्धान हतारमा नहुने र यसका लागि समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएर राज्यको ढुकुटी मास्ने ठूला र पहुँचवालाहरुमाथि छानबिन गरिरहेको छ ।

यस्ता १०० जनामाथि निरन्तर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो ।

सांसदहरु प्रेम सुवाल र दिलेन्द्रप्रसाद बडूले ‘नेताहरुको सम्पत्ति छानबिन गर्न अख्तियारलाई दबाब पर्ने गरेको हो रु’ भन्दै प्रश्न सोधेका थिए ।

यस्तै सांसद विजय सुब्बाले ‘राष्ट्रपति, प्रधानमन्त्रीकै तलब गाडी किन्न पुग्ने छैन भने सबै नेताका गाडी कहाँबाट आयो र त्यो पैसाको स्रोत के हो रु’ भन्दै प्रश्न गरेका थिए ।

विलासी जीवनशैली बिताउने नेताहरुमाथि अख्तियारले छानबिन नगरेकोमा उनीहरुले असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्