यसरी चल्छ प्रचण्डको दुर्इघेरे सचिवालय: कसलाई गर्लान नियुक्ति ?
छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी सहज बनाएको थियो । तर प्रकाशको निधनपछि अहिले उनको सचिवालयको सहज व्यवस्थापन चुनौतीपूर्ण भएको छ । प्रकाशको ‘अब्बल’ व्यवस्थापनमा उनी निस्फिक्री र ढुक्क थिए ।
नियुक्ति गर्ने सोच
दाहालले प्रकाशको अभावमा आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचेका छन् तर त्यसको टुंगो लगाइसकेका छैनन् । खुमलटार स्रोतका अनुसार उनले राजनीतिक घटनाक्रम केही सहजतामा चल्नेबित्तिकै सचिवालय व्यवस्थित गर्ने योजना बनाएका छन् । पहिलो घेरा दाहालले अहिले पार्टीभित्र सबैभन्दा बढी कृष्णबहादुर महराको विश्वास गर्छन् । पोस्टबहादुर बोगटीको निधनपछि उनले आफ्ना विश्वासपात्रका रूपमा महरालाई लिन थालेका हुन् । युद्धकालदेखि पार्टी टुटफुट, एकता सबैजसो उतारचढावमा अन्तिम अवस्थासम्म दाहाललाई महराले कहिल्यै साथ छोडेनन् ।
पुन, थापा र श्रेष्ठ
दाहालले आफूले लिने नयाँ स्टेपपछि त्यसलाई व्यवहारतः कार्यान्वयनमा लैजानका लागि भने वर्षमान पुनलाई सम्झने गर्छन् । प्रायःजसो पार्टी निर्णय वा दलीय सहमतिलाई कार्यान्वयनमा लैजानका लागि बनाइने ‘कार्यदल’ मा दाहालले वर्षमानलाई समेट्न छुटाउँदैनन् । पछिल्लोपटक एमाले-माओवादी चुनावी तालमेलको भागबन्डा लगाउन बनाइएको कार्यदलभित्र पनि उनी समेटिएका थिए । माओवादी पार्टी एउटै हुँदासम्म दाहालको पहिलो घेराभित्रै पर्थे, रामबहादुर थापा पनि । तर बीचको केही वर्ष थापा पार्टी विभाजनमा गएपछि उनको ठाउँ ‘रिप्लेस’ गर्न आइपुगे- नारायणकाजी श्रेष्ठ ।
पार्टी संगठनको जिम्मा
अहिले फेरि थापासमेत एकै पार्टीमा रहेपछि दाहालले थापा र श्रेष्ठ दुवैलाई औपचारिक संवादलगायत कार्यक्रममा सँगसँगै अगाडि बढाउन थालेका छन् । संगठनमा राम्रो ‘होल्ड’ राख्नसक्ने भएकाले उनले पार्टी संगठनको जिम्मा थापालाई लगाएका छन् । केही नयाँ निर्णयमा पुग्नुअगाडि महरासहित थापा र श्रेष्ठसँग पनि परामर्श गर्ने गरेका छन् ।
परिवारभित्र
दाहालका प्रमुख स्वकीय सचिवका रूपमा जोगबहादुर महराले काम गरिरहेका छन् । उनी दाहाल जता पुग्छन्, सँगसँगै हुन्छन् । अहिले प्रकाशको अभावमा दाहालको सम्पूर्ण दैनिक कामको व्यवस्थापन मिलाउने उनको भूमिका बढेको छ । दाहालको आफ्नै परिवारभित्र भाइ नारायण, छोरी रेणु र ज्वाईंहरू अर्जुन पाठक तथा सागर केसी पनि भेटघाटलगायतका कार्यक्रमको व्यवस्थापनमा कुनै न कुनै रूपमा जुटिरहेकै हुन्छन् ।
दोस्रो घेरा:
दाहालको दोस्रो घेरामा हरिबोल गजुरेल, जर्नादन शर्मा, अग्नि सापकोटा, चक्रपाणि खनाल, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेता छन् । पार्टीले थप केही निर्णय लिनुपर्दा दाहालले पार्टीभित्र केन्द्रीय कार्यालयको बैठक बोलाएर निर्णय लिने गर्छन् । तर त्यसभित्र पनि थप छलफल गर्नुपर्दा वा सहयोग लिनुपर्दा उनले गजुरेल, शर्मा, सापकोटा, बस्नेत र भुसाललगायत नेतालाई बोलाउने, परामर्श गर्ने गर्छन् ।
सुरक्षा सहयोगीका रूपमा दाहालसँग लामो समयदेखि पार्टी नेता सन्तु दराईले साथ दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्