खाडीमा बेच्न लगिएका नेपाली युवतीको भारतको दिल्लीबाट उद्धार गरियो
काठमाडौ, १८ चैत । खाडीमा बेच्न लगिएका १२ जना नेपाली युवतीको भारतको दिल्लीबाट उद्धार गरियो । दिल्ली महिला आयोगले आइतबार राति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको उद्धार गरेको छ । उदय नाम गरेका एक एजेन्टले दुबई र अन्य खाडी देशमा राम्रो रोजगार दिने प्रलोभनमा पारेर ती युवतीहरुलाई दिल्ली पुर्याएका थिए ।
आनन्दी (नाम परिवर्तित) बाट दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासो प्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइएको थियो । आनन्दीको गुनासो पाइसकेपछि आयोगबाट खटिएको टोली उद्धार क्षेत्रमा पुगेको थियो । टोलीले १२ नेपाली युवतीको उद्धार गरे पनि एजेन्ट भनिएका उदय भने भेटिएनन् ।
उद्धार गरिएका युवतीहरुले राम्रो तलबको लोभमा एजेन्टले कामका लागि इराक, कुवेत र दुबई पठाउने वाचा गरेको बताएका छन् । अधिकांश युवतीहरुले एजेन्टलाई राम्रो रोजगार पाउने आशमा ५० हजार बुझाएको र २ जना युवतीले भने २२ लाख दिएको बताए ।
आनन्दीले आफ्नै नजिकका नातेदारले उदय नामको एजेन्टको सम्पर्कमा पुर्याएको बताएकी छिन् । उनले राम्रो रोजगार दिने आशमा इराकमा एक व्यक्तिलाई बेचिदिएका थिए । बेचिएकी आनन्दीमाथि दुव्र्यवहार गरियो र लामो समय पीडित रहेकी उनी त्यहाँबाट भाग्न सफल भएकी थिइन् ।
भारत फर्किएपछि उनले एजेन्टलाई सम्पर्क गरिन् र उनले अन्य लुकाएर राखिएका नेपाली युवतीको बारेमा थाहा पाएपछि दिल्ली महिला आयोगमा सम्पर्क गरेकी थिइन् ।
आनन्दीले इराक जानुपूर्व दिल्लीको पहाडगञ्जमा आफू बलात्कारको शिकार भएको बताइन् । आयोगले बलात्कारको सम्बन्धमा एफआईआरका लागि पहल गरिरहेको छ । उद्धार गरिएका युवतीहरुलाई पहिला छावला पुलिस स्टेशन र त्यसपछि आश्रय गृहमा पुर्याइएको छ ।
आयोगकी अध्यक्ष स्वाती मालीवालले भनिन्, ‘ठूलो सङ्ख्यामा मानव तस्करी जारी छ, विभिन्न बाहानामा सयौं महिलाहरु नियमित रुपमा दिल्ली हुँदै खाडी देश पुग्ने गरेका छन् ।
गएको वर्ष पनि आयोगले विभिन्न लोभ र प्रलोभनमा परेर बेचिन लागेका सयौँ नेपाली युवतीहरुको उद्धार गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्