६ घाइतेलाई नेपाली सेनाको स्काई ट्रकले काठमाडौं ल्याए

काठमाडौं, १८ चैत । बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई नेपाली सेनाको स्काई ट्रक विमानले लिएर काठमाडौं ल्याएको छ । भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको सेनाले जनाएको छ ।
आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् ।

बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए ।
गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ । विमान अवतरण भएलगत्तै झापाका लागि पुनः उड्नेछ । त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर बाराको सिमरातर्फ जानेछ ।

ओलीले हावाहुरीबाट क्षति पुगेको क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । बारा र पर्सामा गम्भिर घाईतेलाई उद्धार र उपचारका लागि हेलिकोप्ट तयारी अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्