किन चल्यो एक्कासी आँधी जस्तो हावाहुरी ? पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

काठमाण्डौ , चैत १८ । पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा आइतबारको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ ।

आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन् ।

देशको मध्य भू–केन्द्रित भएर अचानक मान्छे नै उठाउने गरि आएको हावाहुरीको कारण स्पष्ट नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बेलुका बारा तथा पर्सामा केन्द्रितभइ अचानक आएको हावाहुरीका कारण कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ । मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुनेबताए ।

‘आइतबार बेलुका एकै ठाउँमा केन्द्रित भएर मान्छे नै उठाउने हुरी चल्यो । हामीले मध्य क्षेत्रमा हावाहुरी चल्ने तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखेका थियौँ । तर यस्तो गम्भीर घालको हावाहुरीको आँकलन थिएन ।’

उनले अघि भने, ‘प्रि–मनसुनको समयमा स्थानीय वायुको प्रभाव र अरु प्रणालीका कारण मौसमी गतिविधि परिवर्तन भइरहेको हुन्छ र आँकलन गर्न कठिन हुन्छ । तर बारा तथा पर्साको अनुभव नयाँ रह्यो ।’

तर सोमबार हिजोजस्तो ठूलो हावाहुरी आउने सम्भावना भने नभएको उनको भनाइ छ । पहाडी भेग र पूर्वी तराईका केही ठाउँमा मेघ गर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उनले बताए ।

नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले आइतबार तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उनले बताए ।

नेपालमा मौसमको पूर्वानुमान गर्ने मोडलले सबै खालको मौसमको पूर्वानुमान गर्न नसक्ने तथा नेपालको भौगोलिक बनावटका कारण पनि मौसम पूर्वानुमानमा समस्या हुने गरेको उनको भनाइ छ ।

हावाहुरीको सम्भावना देखिए पनि कति ठूलो र कति सानो भन्न कठिन हुने गरेको मौसमविद् अर्यालले बताए । आइतबार पनि सामान्य हावाहुरी आउनसक्ने सम्भावना मोडेलले देखाए पनि अनपेक्षित रुपमा ठूलो हावाहुरी आएको उउनले बता ।

प्रतिक्रिया दिनुहोस्