तराईमा विनाशकारी हावाहुरी अपडेटः मृतकको संख्या ३१ पुग्यो,उद्धार जारी, रगत र बेड अभावले उपचारमा कठिनाइ

काठमाडौं , चैत १८ ।आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

हावाहुरी प्रभावितका लागि केन्द्रबाट बिहानै राहत सामग्री पठाइयो

बारा र पर्सामा आइतबार बेलुका आएको हावाहुरीका कारण प्रभावित भएकाहरुका लागि आवश्यक राहत सामग्रीको व्यवस्थापनका लागि सक्रिय रुपमा पहल भइरहेको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख वेदनिधी खनालका अनुसार केन्द्रबाट सोमबार बिहान चार बजेतिर बारा तथा पर्साका हावाहुरी प्रभावितका लागि तत्कालको राहत स्वरुप ४६८ थान पाल, चार हजार एक सय थान लुगा तथा केही रोल कपडा पठाइएको छ ।

यस्तै अब आउन सक्ने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउनका लागि गरिनु पर्ने पहल बारे पनि स्वास्थ्य सम्बन्धी आपतकालीन कार्यसञ्चालन केन्द्रसँग आफूले समन्वय गरिरहेको खनालले बताए ।

स्थानीय तहमा अधिकार रहेकाले आफूहरुले स्थानीय तहसँग समन्वय गरेर आवश्यक औषधि तथा स्वास्थ्य सम्बन्धी सामग्री पठाउने उनले जानकारी दिएका छन् ।

अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार ३४० जना भन्दा बढि विभिन्न अस्पतालमा उपचाररत छन् । यस्तै दुई सय ५० जना भन्दा बढि उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्