मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलिदेखि श्रम स्वीकृति पाउने, नयाँका लागि भने खुल्न अझै केही दिन लाग्ने

काठमाण्डौ , चैत १७ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् ।

मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको छ ।

विभागले मलेसियसन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको हो ।

तथ्याङ्कअनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् । कलिङ भिसा लागेकाले भोलिदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।

कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्