के कार्बोनेटेड पानीले हाड कमजोर पार्छ ?

टिप्स/जानकारी

बेला–बेलामा कार्बोनेटेड/सेल्जर/स्पार्कलिङ/बबली वाटर वा क्लब सोडाले हाम्रो हाड खियाउँछ वा बिगार्छ र हाडको क्याल्सियमको घनत्व कम पार्ने भएकाले हाड कमजोर बनाउँछ भन्ने चर्चा हुने गरेको छ।

कार्बोनेटेड वाटर भन्नाले धेरै दबाब दिएर कार्बन डाइ अक्साइड ग्यास मिसाइएको पानी हो।

कार्बोनेटेड पेय पदार्थ स्वादिलो पार्न प्रयोग गरिने फोस्फोरिक एसिड (फोस्फेट)ले हाम्रो शरीरले क्याल्सियम सोस्ने प्रक्रिया अवरुद्ध गर्न सक्छ। यसो भएमा हाम्रो हाडको क्याल्सियम खिइन्छ वा हाडको घनत्व कम भएर कमजोर हुन्छ। तर अनुसन्धानकर्ताहरूले धेरै मात्रामा फोस्फेट उपभोग गर्दा हाड खिइएर घनत्व कम हुने र कमजोर हुने कुनै प्रमाण फेला नपरेको दाबी गर्छन्।

तर, कार्बोनेटेड पानी वा अन्य पेय पदार्थको उपभोगले १३ देखि १९ वर्षका किशोर–किशोरीको हाडको घनत्व कम हुने र भाँचिने गरेको पाइएको छ। युवामा यो समस्याबारे अध्ययन गर्न टफ्ट्स विश्वविद्यालयका अनुसन्धानकर्ताले ४९–६९ वर्ष उमेर समूहका महिला र पुरुष गरी २५ सय जनाको तथ्यांक अध्ययन गरे। ‘द फ्रेमिङ्घम अस्टोपोरोसिस स्टडी’मा उनीहरूले सहभागीहरूको भोजनको अध्ययनसँगै मेरुदण्ड र हिपको बोन मिनरल डेन्सिटी (बिएमडी) मापन गरे।

अध्ययनले कोलारहित पेय पदार्थले हाडको घनत्व (बिएमडी) कम भएको वा घटेको पाइएन। तर, कोलायुक्त पेयले भने महिलाको हिपको हाडमा घनत्व (बिएमडी) घटेको पाइयो। कोलायुक्त पेय पदार्थ सेवनबाट पुरुषमा भने कुनै फरक परेन। महिलाले भने जति धेरै मात्रामा कोलायुक्त पेय सेवन गर्‍यो, त्यति नै बिएमडी घटेको पाइयो। कोलायुक्त पेय सेवनसँगै त्यति नै मात्रामा दूध सेवन गर्दासमेत ती महिलामा बिएमडी घटेको अध्ययनले देखायो।

सन् २००५ मा ‘ब्रिटिस जर्नल अफ न्युट्रिसन’ले पनि एउटा यस्तै तर सानो परीक्षण अध्ययन प्रकाशन गरेको थियो। परीक्षणमा दैनिक करिब एक लिटर फोस्फेटरहित मिनरल वाटर पिउने र त्यति नै मात्रामा कार्बोनेटेड मिनरल वाटर पिउने महिनावारी सुकेका महिलाको बिएमडीको जाँच गरिएको थियो। ८ सातासम्म यसरी दुवै समूहले यही क्रममा पानी खाएपछि फेरि उनीहरूको रगत र पिसाबबाट बिएमडी परीक्षण गर्दा दुवै समूहको बिएमडी समान पाइयो।

त्यसैले कतिपयले सेल्जर वा कार्बोनेटेड पानीले अस्टोपोरोसिस नहुने वा हाड खिइने÷कमजोर नहुने वा फ्र्याक्चर नहुने बताउँछन्। कोलासम्बन्धी अध्ययनकर्ताले भने हलुका पेय पदार्थमा हुने कोलाको क्याफिनका कारण हाडको घनत्व घटेको हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।

यस सम्बन्धमा भएका अन्य अध्ययनले क्याफिनले महिलामा हाडको घनत्व घटाउने देखाएका छन्। केही केसमा कार्बोनेटेड हलुका पेय पदार्थ सेवनले क्याल्सियमयुक्त दूधजस्ता पेयको प्रभाव नै शून्य बनाइदिने अर्थात् दूध खानुको कुनै अर्थ नहुने देखिएको छ।

विशेषज्ञहरू कार्बोनेटेड पेय वा क्याफिनयुक्त पेय जे सेवन गरे पनि धेरै मात्रामा नगर्न सुझाव दिन्छन्। र, यस्ता पेयले दूध वा अन्य स्वास्थ्यबद्र्धक पेयलाई प्रभावहीन बनाइरहेजस्तो तपाईंलाई लाग्छ भने अन्य विभिन्न माध्यमबाट दैनिक कम्तिमा १२ सयदेखि १५ सय माइक्रोग्राम (एमजी) क्याल्सियम शरीरले पाउने उपाय लगाउनु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्