राज्यको करोडौं लगानी भन्दा आफुले गरेको लगानी फलदायीः अध्यक्ष मल्ल (अन्तरवार्ता )
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ धादिङ्गमा जन्मनु भएका बालाजु कराते डो एकेडेमीका संस्थापक अध्यक्ष हुन् ध्रुब बिक्रम मल्ल । उहाँ यहि एकेडेमी मार्फत निरन्तर रुपमा नेपालको खेलकुदको विकासका साथै दक्ष खेलाडी उत्पादनमा अहोरात्र लाग्नु भएको छ । उहाँले नेतृत्व गरेको एकेडेमीका खेलाडीले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । राज्यको एक रुपैंयाँ पनि लगानी नरहेको र सहयोग पनि नलिएको बताउने अध्यक्ष मल्ल, राज्यले करोडौ लगानी गरेको भन्दा आफुले गरेको लगानी फलदायी भएको दावी गर्नुहुन्छ । नेपाली खेल क्षेत्रमा ठूलो त्याग गर्नु भएका मल्ल कराते विधाका तीनवटै लाईसन्स् लिने नेपालका एक्ला प्रशिक्षक हुन् । उहाँ खेलबाहेक समाजिक कार्यमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । यसै सेरोफेरोमा केन्द्रीत रहेर एकेडेमीका अध्यक्ष ध्रुब बिक्रम मल्लसंग जागरण न्युजका लागि रञ्जित धमलाले गरेको कुराकानी:
तपाई आफ्नो परिचय दिनुपर्दा कसरी दिन चाहनु हुन्छ ?
म एउटा कराते प्रशिक्षक हुँ । यसकासाथ मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय गेमहरुमा रेफ्रीको भूमिका पनि धेरै पटक निर्वाह गरेको छु । म खेल क्षेत्रको कुसल व्यवस्थापक पनि हुँ जस्तो लाग्छ । किनकी मैले प्रशिक्षित गरेका खेलाडीहरुले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा विजय हासिल गरेका छन् । राज्यले करोडौं लगानी गरेको भन्दा मैले गरेको लगानी फलदायि भएको छ । यसमा म गर्भ गर्छु । त्यसैले आज मेरो परिचय नै खेलकुद भएको छ । आज म ध्रुब विक्रम मल्लबाट ध्रुब गुरु भएको छु । यो मैले घमण्ड गरेर भनेको कदापी हैन । मैले यस क्षेत्रमा गरेको निरन्तरको लगानी, त्यसबाट लाभ उठाएका खेलाडी र खेल क्षेत्रले मलाई दिएको गुरुको सम्मान मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।
तपाईले खेल क्षेत्रलाई नै रोज्नुको कारण र रहस्य के हो ? यो प्रेरणा कसरी पाउनु भयो ?
म स्कूले जीवनमा पनि खेलप्रति आकर्षित थिएँ । त्यति बेलाको समयमा पनि स्कूलमा बीरेन्द्रसिल्ड प्रतियोगीता हुन्थ्यो । त्यति बेला स्कूलमा भएको प्रतियोगितामा पनि २ स्वर्णपदक स्कूललाई दिलाएको थिएँ । स्कूलमा हुने सबैखाले प्रतियोगिताहरुमा भाग लिन्थें । म अध्ययन गर्ने स्कूलमा शुकबहादुर गुरुङ्ग भन्ने सर आउनु भाथ्यो । उहाँले नाइनस्टिक र किकहरु बेसरी हानेको देखेपश्चात म प्रभावित भएर त्यसै स्कूलमा हामीले पनि गेम सिक्न थाल्यौं । अनि त्यसपछि चाही खेलमै लागियो । खेलमा अवसर पाएपछि केहि गर्छु भन्ने आत्मविश्वाश बढ्दै गयो । वि.सं. २०४४ सालदेखि निरन्तर रुपमा यस क्षेत्रमा लागिरहको छु । मेरो सम्पूर्ण जीवन नै खेल र खेलाडीको विकासको लागि बितेको छ ।
तपाई बालाजु कराते डो एकेडेमीका संस्थापक हुनुहुन्छ । यो संस्था स्थापना किन र के का लागि गर्नु भयो ?
म सानैदेखि खेलमा रुचि भएको मानिस हुँ । नेपालको खेलकुद क्षेत्रको दयनीय अवस्था देखेर आफ्नो व्यक्तिगत तर्फबाट केहि गर्न सकिन्छ भन्ने सोच बढ्दै गयो । नयाँ अवधारणासहित एउटा मजबुत एकेडेमीको आवश्यक छ भन्ने महशुस गरेर वि.सं. २०४८ सालमा बालाजु कराते बोर्ड प्रतिष्ठान नेपाल भन्ने संस्था स्थापना गरें । यसलाई औपचारिकता दिन सबै प्रक्रिया अगाडी बढाएँ । अहिले यो संस्था खलेको विकासको लागि सक्रिय रुपमा अगाडी बढीरहेको छ ।
अहिले बालाजु कराते डो एकेडेमीले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
बालाजु कराते डो एकेडेमीबाट हामीले अहिलेसम्म ४५ जना खेलाडीहरुलाई निःशुल्क अध्यापन, जस्तै स्कूल स्तर, उच्च माध्यामिक शिक्षा स्तरका र कलेज लेबलकालाई निःशुल्क पढाउने गरेका छौं । त्यसका साथै खेलकुदका विभिन्न प्रतियोगिता तथा राष्ट्रिय च्याम्पिनसिपहरुमा प्रतिनिधित्व गराएका छौं । यस प्रतिष्ठानबाट उत्पादन गरिएका राष्ट्रिय च्याम्पियन खेलाडी बनाएर विदेशमा खेल खेल्न पठाएका छौं । अहिलेसम्म आउँदा टप–टप साफ स्वर्ण पदक, एशियाली गेमहरुमा पदक विजेता बनेका छन् । अल्ट्रा म्याराथुन विश्व विजेता मिरा राई पनि बालाजु कराते डो एकेडेमीकै उत्पादन हुन् । राईले अल्ट्रा म्याराथुनबाट रिजेल्ट ल्याउन सक्छ भन्ने लागेर नै मैले त्यता लगाएको हो । किन भने कराते खेल्न त स्पीड चाहिन्छ, मिरा राईमा त्यो स्पीड थिएन, तर उनमा कडा र निरन्तर ट्रनिङ्ग गराए पनि नथाक्ने अद्भुत उर्जा थियो । त्यसैले उनलाई अल्ट्र म्याराथुनमा भागलिन लगाईयो । उनी अहिले विश्वको चर्चित खेलाडी बन्न सफल भएकी छन् ।
त्यस्तै करातेमा नाम लिने हो, भने सन् २०१४ को एशियन गेममा बिमला तामाङ्ग छिन् । त्यो खेलमा राज्यबाट २ सय ५ जना खेलाडीहरु कोरिया पुगेको थियो । रेफ्री अफिसियल प्रशिक्षकलगायत गरेर ३६० जना पुगेका थिए । सम्पूर्ण तयारी गर्नको लागि राज्यबाट रु.८ करोडको लगानी भएको थियो । तर हामीले बालाजु कराते डो एकेडेमीका खेलाडीको लागि आफंैले लगानी गरेर तयारी गरौं । उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेर गएका थियौं । तर, परिणाम चाहि के भयो भने राज्यले त्यत्रो लगानी गरेको खेलाडीले कुनै पदक जित्न सकेनन् भने, हाम्रो एकेडेमीको खेलाडी बिमलाले देशको लागि एक मात्र कास्य पदक जितायो ।
त्यसपछि लगतै अहिले नविन रसाइली भन्ने भाई छ । ऊ चाही अपिसियल साफ गेम साउथ एसियन करातेमा लगातार ३ पटक स्वर्णपदक जितेको खेलाडी हुन् । त्यो पनि कराते खेल इतिहासमा नयाँ रेकर्ड हो । अर्को विजय श्रेष्ठ भन्ने छ । इन्डानेशियामा भएको सितोरियोको एशियन गेममा लगातार रुपमा सुरुदेखि अन्त्यसम्म सबै प्रतिस्पर्धीलाई नकाउट हानेर स्वर्णपदक जितेर नयाँ रेकर्ड बनेको छ । झापाबाट आएका एस्तर राई यहि प्रतिष्ठान अन्तर्गतको होस्टेलमा बसेर तालिम लिई रहेकी छिन । जसले जापानमा भएको १७ औं यु २१ एशियन गेममा नेपालले १७ औं संस्करणसम्म पनि पदक जितेको थिएन, तर राईले कास्य पदक जितेर नयाँ रेकर्ड बनाएको छ । जुम्ला निबासी अल्ट्रा धाविका सुनमाया बुढा जसले ५४ किलोमिटर दौड प्रतियोगितामा पुरुषमा प्रथम हुने बेलायती खेलाडीलाई पछि पार्दै प्रथम हुन् सफल भई अल्ट्रा खेलमा महिलाले पुरुषलाई पछि पारेको विश्वमा यो नयाँ रेकर्ड हो सुनमाया पनि प्रतिष्ठान अन्तर्गतको होस्टेलमा बसेर तालिम लिई रहेकी छिन यस्ता थुप्रै खेलाडीहरु यस बालाजु प्रतिष्ठानको पहलबाट उत्पादन भएका छन् । यो, प्रतिष्ठानको मात्रै होइन देशको पनि गौरब हो । यस्ता साहसिक खेलाडीहरुलाई साथ दिई उत्पादन गर्न सकेकोमा म आफूलाई पनि आत्मा सन्तुस्टी भएको ठान्दछु ।
हाम्रो देश खेल क्षेत्रको कुरा गर्दा गर्व गर्ने अवस्था छैन, तपाईको विचारमा खेलकुद क्षेत्रको विकास कसरी देख्नु हुन्छ ?
सर्वप्रथम खेलक्षेत्रको सर्वाेच्च निकायहरुमा खेल बुझेका व्यक्ति आउँदैनन् । हाल सम्मको इतिहास हेर्दा केही बाहेक त्यस्तो काम गर्ने क्षमतावान व्यक्ति आएको छैन । यसलाई बुझ्ने कोशिस पनि भएको छैन । राजनीतिक हस्तक्षेप छ । त्यसैले गर्दा जुन गतिमा विकास हुनु पर्ने थियो त्यो भएको छैन । काम नै नगरी तलब भत्ता पचाउने गर्छन् । कार्यालय व्यवस्थापन, प्रशिक्षण, पूर्वाधार विकास राष्ट्रिय संघहरुको व्यवस्थापन लगायतमा राज्यको करोडौं जान्छ । लगानी गरे जस्तो नतिजा छैन, बालुवामा पानी हाले सरह भएको छ ।
खेलको आफ्नै नियम हुन्छ । खेलमा जात भात, धनी गरिब, ठूलो सानो देश भन्ने हुँदैन । सबैलाई एउटै नियम लागू हुन्छ । अमेरीका र नेपालको लागि भनेर छुट्टै कानुन र नियम छैन । अन्य देशमा कानुन नीति नियम र अनुशासन सबै कुरा लागू हुन्छ । खेलाडीलाई सम्मान र लगानी गर्छ, तर नेपालमा खेलाडीले पाउने सेवा सुविधा पनि खाई दिने गर्छन् । नीति नियम विपरित काम गर्छ, चलखेल हुन्छ । नियुक्ती गर्दा होस् वा निर्वाचन, आफ्ना मानिस ल्याउन सक्रिय हुन्छन् । जब सम्म खेल बुझेको नेतृत्व आउँदैनन् तबसम्म आफन्तलाई पदमा पुर्याउन शक्तिको दुरुपयोग गर्छन् । जसले गर्दा खेलको विकास हुँन सक्दैन । यहाँ अधिकार र कर्तव्यको बोध कसैलाई छैन । व्यक्तिगत स्वार्थमा लिप्त छन् । त्यसैले खेल क्षेत्र समस्या नै समस्याले जाँजिएको छ ।
तपाई खेल क्षेत्रको अब्ल प्रशिक्षक कसरी बन्नुभयो ?
खेलमा पहिला हरेक विधामा विश्व महासंघ छ । त्यस मा पनि विश्व कराते महासंघ छ । त्यस अन्तर्गत एशिया कराते महासंघ छ । एशिया कराते महासंघले ४५ देश हेर्छ । यहि एशिया कराते महासंघले निर्णायकर रेफ्री र कोचको एक्जाम लिन्छ र पास भएपछि लाइसेन्स दिन्छ, भने जज (बि) पास भएको एक बर्ष पछि जज (ए) परिक्षा दिन पाउछ त्यसमा पनि पास भए पछि रेफ्री बन्छ अर्को काता खेल विधामा जज हुन्छ । अर्को (कोच) एग्रीग्रेसनको परिक्षा पास भएबाट लाइसेन्स प्राप्त हुन्छ । नेपालमा म नै अहिले सम्म ३ वटै विधाको लाइसेन्स लिन सफल भएको एकलो व्यक्ति हुँ । त्यो ३ वटै विधाका लाइसेन्स लिने नेपालमा म मात्रै हो करातेको हकमा । म अब्बल भएर नै मेरा खेलाडीहरु स्वर्ण पदक विजेतका छन् । राज्यबाट अब्याबस्थित करोडौं लगानी भएका खेलाडीले जित्न सकेका छैनन् ।
खेल क्षेत्र बारम्बार विवादमा आउनुको कारण के हो ?
खेलको महत्व बुझाउन सक्नु पर्छ । पहिलो कुरो त सहि नेतृत्व आउँदैनन् । राजनीनिक हस्तक्षेप छ । सही प्रतिभाले अवसर पाएका छैनन् । नेतृत्वलाई सिष्टम थाहा हुँदैन । सहि नेतृत्व नभएपछि भद्रगोल हुन्छ । यहि कारणले यो क्षेत्र डामाडोल र भद्रगोल छ । यसले गर्दा गलत नेतृत्व र राजनीतिक हस्तक्षेप विरुद्ध समय समयमा विवाद तथा प्रश्नहरु उठ्ने गर्दछ । हाम्रो देशको नेतृत्व कति कमजोरी छ भन्ने त हामीले प्रमाणित नै गरेसकेका छौं । राजनीतिक हस्तक्षेपले गर्दा खेल क्षेत्रमा सही प्रतिभाले अवसर पाएको छैनन् ।
खेलाडीहरुको क्षमता विकास लागि सरकार कहाँ चुकिरहेको छ ? यसमा तपाईको दृष्किोण के हो ?
खेलकुदमा सहि नेतृत्व पठाउन सरकार चुकेको छ । सरकारले खेल क्षेत्रमा सहि नेतृत्व पठाउन नसक्दा यस क्षेत्रमा तमाम समस्या उब्जिएको हो । नेतृत्व चयन गर्दा यसलाई बुझेको नियम, कानुन, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा क्षमता राख्ने सक्षम पदाधिकारी ल्याउनु आजको टड्कारो आवश्यकता हो । हाम्रा खेलाडीहरु सक्षम छन् । केवल आवश्यकता सहि नेतृत्व, प्रशिक्षण र पारिश्रमिकको खाँचो छ । खेलाडीहरुलाई यो क्षेत्रबाट जीविकोपार्जनसंगै इज्जत भविष्य छ, भन्ने विश्वास दिलाउनु सक्नु पर्छ ।
खेलाडीहरुको मुख्य समस्याको चुरो कहाँ छ ?
खेलाडीको मनोभावनालाई बुझेर लगानी गर्न पर्छ । सहि खेलाडी को हुन् र कसलाई लगानी गर्दा राज्यलाई फाईदा हुन्छ । देश तथा विदेशमा हुने च्याम्पियसिपहरुमा पदक जित्न सफल हुन्छ ? त्यहाँ राज्यको लागनी हुनु जरुरी छ । नेतृत्वलाई त्यो कुरो ज्ञान हुनुपर्छ । सहि खेलाडी निकाल्ने हो भने सर्वप्रथम खेलाडीको पारिश्रमिक, क्योलोरीयुक्त डाइट, प्रक्षिण, पुरस्कृत, अब्ल कोच, सेवासुविधाको निर्धारणलगायत अन्य सिष्टमको ख्याल राख्नु नितान्त आवश्यक छ । खेलाडीको सहि पहिचान गर्न नसेकमा प्रक्षिण, डाइट खुवाएर मात्र रिजेल्ट आउँदैन । खेलाडीको पहिचानसहित विश्व महासंघ, एसिया महासंघ, साउथ एसिया महासंघलगायत सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँग सहकार्य गरेर अघि बढ्यो भने आफै राम्रो नतिजा आउँछ । यहाँ नेरी सक्षम नेतृत्व र शिष्टमको आवश्यकता हो । होनहार खेलाडीहरुको जमात हामीसँग छ ।
बालाजु डो प्रतिष्ठानका खेलाडीहरु विश्वमा गएर स्वर्ण, रजत तथा कास्य पदक जित्नेमा को–को छन् ?
मिरा राई, सुनिल लामा, मल्लीका थापा, मनिस थापा, नविन रसाइली,राजकुमार रसाइली, बिमला तामाङ्, विजय श्रेष्ठ, अनु अधिकारी, अनुपमा मगर, राजीव पुडासैनीलगायतका थुप्रै खेलाडीहरु छन् । राज्यले लगानी गरेभन्दा यस संस्थाले उत्पादन गरेका खेलाडीहरुले विश्व कृतिमान राखेर देशको इज्जत बढाएका छन् । राज्यले खेलाडी र खेलकुदको विकासको लागि छुट्याएको बजेट कहाँ जान्छ ? राज्यको त कुरै नगरौ यति खर्च छ । त्यो लगानीका्े हिसाब किताब गरेर साध्यै छैन । राज्यको लगानी राम्रो छ , तर नतिजना शुन्यको बराबर छ । खेलको नम्स् बुझेर लगानी नगरेसम्म भने जस्तो रिजल्ट निकाल्न सकिन्न ।
भने जस्तो परिणाम ल्याउन के गर्नु पर्ला ?
नेतृत्व गर्ने मान्छे सही हुन पर्याे । मुख्य रुपमा खेलहरुलाई प्राथमीकता दिन पर्यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय सिष्टममा रहि विभिन्न इभेन्ट, टुनामेन्ट, प्रतियोगिता, च्याम्पियनसिपहरुमा भाग लिनुपर्छ । गेमलाई बुझेर राष्ट्रिय महत्व दिनु पर्छ । यसका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थासँग सहकार्य आवश्यक छ । विश्व महासंघ, एसिया महासंघ, साउथ एसिया महासंघ अन्तर्गतको खेलहरु गरियो भने चाहि राम्रो परिणाम आउँछ ।
तपाईको सबै भन्दा खुशिको दिन कुन हो, र यसलाई कसरी स्मरण गर्न चाहानु हुन्छ ?
मेरो खुशिको दिन भनेको मेहनतको रिजल्ट हो । ठूलठूलो प्रतियोगिताहरुमा राम्रो रिजल्ट आउनु नै मेरो खुशि हो । पालनपोषण, शिक्षा दिक्षासबै गरि मैले उत्पादन गरेको मीरा राईले फ्रान्समा भएको ८० किलोमिटर दौडमा ३ पटसम्मको विश्वच्याम्पियनलाई फ्रान्समै गएर पराजित गरेर विश्व चर्चित हुँदा म निकै खुशी भएको दिन हो । त्यस्तै बिमला तामाङ्गले साउथ कोरियामा भएको १७ औं एशियन गेममा करातेमा कास्यपदक जित्दा निकै हर्षित भएको थिएँ । यस्ता खुशीको क्षणाहरु धेरै छन् । खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्दा अत्यन्त खुशी लाग्छ, जुन शब्दमा व्यक्त गर्न सकिन्न ।
खेल क्षेत्रमा यति ठूलो योगदान गर्नु भएको छ । राज्यसंग पनि एक रुपैया पनि लिनुभएको छैन भन्नुुहन्छ, संस्थाको आयस्रोत के हो ? बताउन मिल्छ ?
मैले राज्यबाट एक रुपैयाँ पनि लिएको छौ । साथीभाई सबैको माया ममताले सफल भईएको छ । चलिरहेको छ । ठूलो कुरो मिहिनेट हो । इच्छा शक्ति भएमा भगवानले पुर्याउँदो रहेछ । आफु सन्तुष्ट पनि हुनुपर्छ । म मा आँट, जोश जाँगर छ । निरन्तर अगाडी बढिरहको छु । सेवा नै धर्म हो भन्ने कुरो बुझेको छु । साथीसंगिको सहयोग र सद्भाव नै मेरो मुख्य स्रोत हो ।
नेपालमा कुन–कुन खेलको भविष्य छ, तपाईको अनुभवमा ?
नेपालको सबै खेलक्षेत्रहरुमा भविष्य राम्रो छ । तोक्वान्डो, बक्सिङ्ग, जुडो, कराते, क्रिकेट, फुटबल सबैको भविष्य राम्रो छ । जरुरत छ नीति नियम र नेतृत्वको । खेलाडीहरुको क्षमता, इच्छा बुझेर सहिपहिचान गरि लगानी गरेमा यसले परिणाम पनि राम्रो दिन सक्छ । केही गरौ भन्ने खेलाडीको धेरै छन् । तर उनीहरुको मोरल डाउन हुने काम भईराखेको छ । उचित पहिचान, पारिश्रमिक र भविष्य निर्धाण गर्न नसक्नु नै प्रमुख चुनौति हो ।
राष्ट्रिय खेलकुद परिषद्ले गरेका कार्यप्रति तपाई सन्तुष्ट हुनुहुन्न ?
सन्तुष्ट भएको भए त मैले पनि राष्ट्रिय खेलकुद परिषद्सँग जोडिएर काम गर्थें होला नि ? राष्ट्रिय खेलकुद परिषदको नेतृत्वसंग जोडिएर केही फाईदा हुनेवाला छैन । चाकरी गर्नेको मात्रै दिन छ । म कहिल्यै पनि यस कार्यालयको काम लिएर खेलकुद परिषद्मा गइन र मेरो सम्बन्ध पनि छैन । मैले राज्यबाट एक रुपैया आस गरेको छैन । माग्ने इच्छा पनि जागेको छैन र मेरो चाहाना पनि छैन । देशलाई कसरी राम्रो रिजेल्ट दिने यतिमा मेरो ध्यान केन्द्रीत छ ।
तपाईको भाबी लक्ष्य के छ ?
अझै बलवाल नयाँ नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने । यो संगसंगै सामाजिक काम गर्ने , दुर्गम जाने विभिन्न संघ/संस्थासंग जोडिएर काम गर्ने । मेरो मुख्य लक्ष्य गरिब निमुखा जेहेन्दार प्रतिभाहरुलाई अवसर दिने र पढाउने नै हो । अहिले चाहि कराते र अल्ट्रा म्याराथुन खेललाई बढि जोड दिईरहेको छु । मेरो जीवन नै खेल हो । खेलको विकास नै मेरो लक्ष्य हो ।
तपाई खेलको साथै सामाजिक क्षेत्रमा पनि लागि रहनु भएकोछ, यसमा रहेर अहिले सम्म के–के गर्नु भयो ?
खेलको साथै अनाथ बालबालीकालाई पनि सेव गर्ने काम गरेको छु । हामीले काठमाडौं महानगरपालीका वडा नं १६ अन्तर्गत पर्ने बालाजु बनस्थलीमा सामुदायिक विकास संघ मार्फत अहिले मेडी प्लस हस्पीटल सञ्चालन रहेको छ । मैले त्यहाँ तीन कार्यकाल अध्यक्ष भएर विभिन्न सामाजिक काम गरें । हाल काठमाडौंको नागार्जुन नगरपालिका ५ आदेश्वरमा सस्थाको आफ्नै १० रोपनी जमिन भएको ४ वटा घरहरु रहेको सस्थामा अध्यक्ष भएको छु । यस संस्थाले टेकुस्थित जनउद्धार सेवा समितिको मातहतमा बालबालिका ब्यबस्थित तरिकाले राख्ने काम भएको छ
। सम्बन्धित वडा रगाउपालिका र प्रहरी रिपोर्टबाट प्रमाणित भई आएका असहाय कोहि नभाका, गरिब असाहय बच्चाहरुलाई खाने, बस्ने, पढाउने निःशुल्क व्यवस्था गरेको छ । अझै यसलाई अगाडी बढाउने कार्यमा क्रियासिल भइरहेको छु । यससंगै अन्य धेरै सामाजिक काममा छु ।
अत्यमा तपाई राज्य वा सरोकारवाला निकायहरुलाई केहि भन्न चाहानु हुन्छ ?
नीति नियम राम्रा छन् । सरकारले ल्याएका सबै नीति नियमहरु लागू नभएको अवस्था छ । त्यलाई कार्यान्वयन गर्नु पर्याे । राज्यले सहि नेतृत्व लिन नसक्नु नै खेल क्षेत्रको विकासको बाधक हो । यसले सहि निकास पाउन सक्नु पर्छ । लगानी गरे अनुसार नतिजा राम्र्रो आउन नसक्नु राज्यको मुख्य चुनौती हो । त्यसलाई सुधार गर्दै चुनौतिलाइहरुलाई चिर्दै लानु पर्छ । खेल क्षेत्रमा राम्रो रिजल्ट आयो भने त युवाहरुको आकर्षण बढेर जान्छ । सहि र प्रतिभावान खेलाडीले अवसर पाउनु पर्छ । राजनीतिक हस्तक्षेपहुनु हुँदैन । खेलकुदको लागि आवश्यक स्टेडियम, भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा बढिभन्दा बढि सहभागित जनाउनु पर्छ । त्यसको लागि सबैपक्षलाई आग्रह गर्न चाहन्छु । खेल र खेलाडीको महत्व बुझ्न सक्नु पर्र्छ । सद्भावले मात्र हुँदैन । यो नै मेरो अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्