क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दियो

काठमाडौं, १८ मंसिर । क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डे(नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो ।

नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । लिन १७औं ओभरपछि रिटायर अर्ट भएका थिए ।

लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।

आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए ।

लिन रिटायर अर्ट भएपछि १८औं ओभरको सुरुमा क्रिजमा गएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै १४ बल खेल्दै २ छक्का प्रहार गरे । आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।

बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १/१ विकेट लिए ।आजको खेल निकै रोचक भएको छ ।

प्रतिक्रिया दिनुहोस्