लगानी सम्मेलनमा अहिलेसम्म २ सय १० जना विदेशी प्रतिनिधि काठमाडौं आइपुगे, आउने क्रम जारी

काठमाडौं, चैत १४ । लगानी सम्मेलनका लागि विदेशी उच्च पदस्थ प्रतिनिधि धमाधम नेपाल आउने क्रम जारी रहेको छ ।

आजै ७ जना भीआइपी आइससेकेको लगानी बोर्डले जनाएको छ भने आज साँझसम्म २० जनालाई रिसिभ गर्ने बोर्डको तालीकामा छ । हिजो मात्र विभिन्न देशबाट ५ जना उच्च पदस्थ प्रतिनीधि आएका थिए । मंगलबार २ जना आएका थिए । विदेशी प्रतिनिधिहरु मंगलबारदेखि आउन थालेका हुन् ।
विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ मन्त्री, ओमनका मन्त्री, भारतको मुतुथको अध्यक्ष लगायत आइसकेका छन ।

ती सबै सोल्टी होटलमा बस्ने कार्यक्रम छ भने केही आफ्ना डेलिजेन्स लिएर अन्य ठाउँमा पनि बस्न सक्ने बोर्डले बताएको छ । भोली कार्यक्रम शुरु हुनु अगाडिसम्म विदेशी लगानीकताहरु आउने बोर्डको भनाइ छ ।

उच्च पदस्थ र अन्य प्रतिनिधि गरेर २१० जना नेपाल भित्रिइसकेको लगानी बोर्ड स्रोतले जनाएको छ । यसको संख्या बढिरहेको छ । सम्मेलनमा ६३५ जना विदेशी प्रतिनिधि सहभागी हुनेछन् भने त्यतिकै संख्यामा स्वदेशी प्रतिनिधिको सहभागिता रहनेछ ।


बोर्डबाट पाहुना रिसिभ गर्न विमानस्थल क्षेत्रमा चारजना खटिएका छन् भने गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पनि अधिकारीहरु पाहुना लिन विमानस्थल परिसरमा खटिएका छन् । उनीहरुलाई चाहिने कार्ड, सिम लगायतका सुविधा एयरपोर्टबाटै उपलब्ध गराइने छ ।

लगानी बोर्डका एक उच्च अधिकारीले सम्मेलनमा आउनेहरुको संख्या निकै बढेकाले भेन्यु व्यवस्थापनमा समस्या देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले थोरै आउलान् भन्ने सोचेका थियौं तर सहभागिताको संख्या निकै बढ्ने देखियो । ७र८ सय अट्ने कोठामा त्यति धेरैलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती खडा भएको छ ।’

यसैगरी समाचार संकलनार्थ विदेशी मिडियाका प्रतिनिधि पनि धमाधम भित्रिरहेको बोर्डले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्