नेपाल मेडिसिटी अस्पताललाई अन्तारष्ट्रिय मान्यता

काठमाडौं, चैत १४ । नेपाल मेडिसिटी अस्पतालले भारतको नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) मान्यता पाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मान्यता दिने संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. हरीश नाडकर्मीले अस्पतालकी कार्यकारी निर्देशक ममता प्रसादलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

अस्पतालको मापदण्ड, गुणस्तरीय सेवा प्रवाह लगायतका विषयलाई आधार मानेर एचएबिएचले गुणस्तरको प्रमाणपत्र दिँदै आएको छ । यसले भारतका १७ हजार अस्पतालमध्ये ५ सय ९२ अस्पताललाई प्रमाणपत्र दिएको छ ।

भारतबाहेक फिलिपिन्सको एक अस्पताललाई पनि मान्यता दिएको छ । नेपाल मेडिसिटी अस्पताल भारतबाहिर प्रमाणपत्र पाउने दोस्रो अस्पताल भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अस्पतालले अन्तारष्ट्रिय रुपमा मान्यता पाउनु खुसीको कुरा रहेको बताए । उनले नेपाली अस्पतालले पनि अन्तराष्ट्रिय विश्वास र मान्यता पाउनु गर्व गर्न लागयक विषय भएको पनि बताए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले प्रगति गर्दै गएको कुरा यसले पनि पुष्टि गरिरहेको बताए ।

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले सेवा सुरु गरेको छोटो समयमा यो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताए। उनले उपचारका नाममा विदेशी रहेको नेपाली रकम रोक्न आफ्नो अस्पताल केही हदसम्म सफल भएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्