काठमाडौंका सडक सफा गर्न पाँच वटा ब्रुमर सञ्चालनमा, मेयर शाक्यद्धारा उदघाटन !कहाँ–कहाँ चल्छ ब्रुमर ?

काठमाडौँ, चैत १२ । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच वटा ब्रुमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ।काठमाडौं महानगरपालिकाले सडकको धुलो बढार्न ल्याएको पाँचवटा ब्रुमर मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ ।

महानगरका मेयर बिद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच ब्रुमर उदघाटन गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले ब्रुमर ल्याउन २ बर्ष लागेको र यसलाई धेरै नै मेहनत गर्नु परेको बताए । शाक्यले थप २ वटा ब्रुमर किन्ने तयारीमा रहेको बताए ।

डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका हुन्। इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन्। महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४।६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ। पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ।

कहाँ–कहाँ चल्छ ब्रुमर ?

पहिलो ब्रुमरले टेकुबाट सडक बढार्न सुरु गरी सोल्टीमोड हुँदै कल‌ंकीसम्म पुग्नेछ । त्यहाँबाट फर्केर सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म बढार्नेछ । त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्मको सडक बढार्नेछ ।

दोस्रो ब्रुमर टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सडक बढार्दै ब्रुमर पुग्नेछ । त्यसपछि त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक बढार्नेछ । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ ।

तेस्रो ब्रुमर टेकुबाट छुटेर त्रिपुरेश्वर सुन्धारा भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली हुँदै सिंहदरबारबाट पुतलीसडकतर्फको सडकसम्म बढार्नेछ । त्यसपछि पुतलीसडकबाट कमलादीमोड, हात्तीसार, जयनेपाल हल दरबारमार्ग कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक बढार्नेछ ।

त्यहाँबाट दरबारमार्गको महेन्द्र शालिकबाट नारायणहिटी हुँदै केशरमहल चोक, त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भुगर्भविभाग अडाडिको चोक नारायणहिटीको उत्तर गेट गैरीधारा ( प्रहरी हेडक्वार्टर पछाडिको चोक) सभामुख क्वार्टर राष्ट्र बैंक, प्रधानमन्त्री निवास (बालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नम्बर ३ को कार्यालयसम्मको सडक बढार्नेछ ।

त्यहाँबाट फर्किँदा शितलनिवास, पानीपोखरी हुँदै लैनचौर, सोह्रखुट्टे बालाजु (रिङरोड) सोरखुट्टेबाट विष्णुमति लिंक रोडको इन्द्रायणी नरदेवी पुलदेखि टेकुसम्मको सडक बढार्नेछ ।

चौथो ब्रुमर टेकुबाट सडक बढार्दै पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, होटल हायात चुच्चेपाटीसम्म पुग्नेछ । त्यहाँबाट फर्किएर चावहिल, गौशाला, बत्तीसपुतली, पुरानो वानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सिंहदरबार, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर हुँद टेकुसम्म पुग्नेछ ।

पाँचौं ब्रुमरले भने टेकु, त्रिपुरेश्वर पोस्ट अफिस, न्युरोडगेट, बसन्तपुर, इन्द्रचोक, न्युरोड, महांकाल, जमल, केशरमहलबाट त्रिदेवीमार्गसम्मको सडक बढार्नेछ । त्यसपछि यो ठमेलबाट फर्केर दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर मण्डला, सिंहदरबारको दक्षिण ढोकासम्म सडक बढार्दै जानेछ ।

त्यहाँबाट हनुमानस्थान, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पुरानो वानेश्वरको रत्नराज्य स्कुल, मध्य वानेश्वर, बत्तीसपुतली चोक, मैतीदेवी, डिल्लीबजार, बागबजार, प्रदर्शनीमार्ग, भद्रकाली त्रिपुरेश्वर हुँदै टेकु बल्खु, कलंकी सीतापाइला बालाजु, गोंगबु, नारायणगोपाल चोक, चावहिल, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार पुरानो बसपार्कबाट त्रिपुरेश्वर हुँद टेकु पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्