सरकारले युद्ध निम्त्याएको कांग्रेस संसदीय दलको ठहर,संसदप्रति उत्तरदायी नभएको आरोप

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर मुलुकमा युद्ध निम्त्याउन खोजेको आरोप लगाएको छ ।

आइतबार सकिएको संघीय संसदको हिउँदे अधिवेशनको समीक्षा गर्न सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले चन्द समूहलाई निषेध गरेर सरकारले युद्ध निम्त्याएको निष्कर्ष निकालेको हो ।

सरकारी रवैयाले चन्द समूहलाई झनै उत्तेजित बनाउने काम गरेको कांग्रेसको ठहर छ ।

हरेक समस्याको समाधान शान्तिपूर्णरुपमा हुनुपर्ने भन्दै चन्द समूहलाई वार्तामा आउन कांग्रेसले आह्वान पनि गरेको छ ।

कांग्रेसले सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाएको छ ।

संसदमा पेस भएका कतिपय विधेयक संविधानको प्रतिकूल रहेको भन्दै त्यसलाई सच्याउन बैठकले माग गरेको छ ।

प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक संविधानविपरीत रहेको भन्दै बैठकले फिर्ता गर्न आग्रह गरेको छ ।

त्यसैगरी, सूचना–प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकार्य नहुने पनि कांग्रेसले स्पस्ट पारेको छ ।

ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत राख्ने सरकारी निर्णयको विरोध गर्दै बैठकले सरकार आफ्नै नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न असफल भएको दाबी गरेको छ ।

बैठकले संसदमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिने व्यवस्था प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।

त्यसैगरी, कांग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति–सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दबाबमूलक कार्यक्रम सन्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्