विद्यार्थीबाट गैरकानुनी शुल्क असुलिरहँदा पनि सरकार किन मौन छ ?
काठमाडौं, चैत ७ ।विद्यार्थीबाट गैरकानुनी शुल्क असुलिरहँदा पनि सरकार मौन रहेको छ ।
निजी मेडिकल कलेजहरुले चिकित्सा शिक्षाका विद्यार्थीसँग गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुलिरहँदा विश्वविद्यालय र सरकारले अहिले सम्म कारबाहीका लागि कुनै कदम चालेका छैनन् ।
अचाक्ली असुलीको विरोधमा उत्रिएका विद्यार्थी परीक्षाबाटै वञ्चित भएपछि सरकारको ध्यानाकर्षण गराउन सत्तारुढ दलनिकट संगठनहरू तालाबन्दी गरी यति बेला आन्दोलनमा उत्रिएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत एक आंगिक र ९ वटा निजी मेडिकल कलेज सञ्चालनमा छन् । किस्ट, गण्डकी, चितवन, नेशनल लगायत कलेजले विद्यार्थीबाट कानून विपरीत ३० देखि ६० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुलेका छन् ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी आफू ठगिएको भन्दै ५० दिनदेखि आन्दोलनमा छन् । अझ ललितपुरको किष्ट लगायत कलेजले त अतिरिक्त शुल्क दिन नसक्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराएकोदेखि बन्द कोठामा राखेर यातनासमेत दिएको पाइएपछि सत्तारुढ दलनिकट संगठन नै आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायत पदाधिकारी र चिकित्साशास्त्र अध्ययन संस्थान डीनका कार्यालयमा तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय अन्तर्गतका १० निजी कलेजले पनि अतिरिक्त शुल्कका नाममा मनोमानी असुलिरहेका छन् ।
मेडिकल काउन्सिलले कानुन विपरीत अतिरिक्त शुल्क असुल्नेलाइ कारवाही गर्न सिफारिस गरे पनि जिम्मेवार निकायहरू कारवाही गर्नुको साटो यो वा त्यो बहानामा पन्छिँदै आएका छन् ।
एमबीबीएस अध्ययनका लागि सरकारले काठमाडौं उपत्यकामा साढे ३८ लाख र उपत्यकाबाहिर ४२ लाख रुपैयाँ शुल्क तोकेको छ । तर आफैले तोकेको सीमा उल्लंघन गरी विद्यार्थीमाथि शोषण भइरहँदा शिक्षा मन्त्रालय र विश्व विद्यालय पदाधिकारी चुप लागेर मौन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्