काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाइँदै, उपत्यकाका ७७ स्थानमा विशेष ट्राफिक जाँच

काठमाडौं, चैत ६ । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ ।

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुईरतीन दिनसम्म होली मनाउने चलन छ ।

युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् ।

बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ ।

विशेष गरेर बसन्तपुर र ठमेलमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ ।

यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् ।

जसलाई होलीका दहन भनिन्छ । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

यसैबिच ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्