७८ लाख घुस प्रकरणः अख्तियारलाई छलेर बयान दिँदादिँदै कलेज सञ्चालक न्यौपाने भारततिर फरार

काठमाडौं, चैत ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् ।

उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् ।

‘उनले दुईपटक बयान दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’–अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो–‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

स्रोतकाअनुसार न्यौपाने घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहित घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो । उनीहरुले न्यौपाने भारत गएको बताएका हुन् ।

फोन सम्पर्कको अनुसन्धान गर्दा घिमिरे र महर्जनलाई भारतीय नम्बरबाट सम्पर्क भएको भेटिएको अख्तियार स्रोतले बतायो ।

कान्तिपुरको सम्पर्कमा रहेका न्यौपानेका एक नातेदारकाअनुसार बयानकाक्रममा हुनसक्ने पोलिग्राफ परीक्षणका विषयमा उनी चिन्तित थिए ।

‘छानबिनकाक्रममा थुनामा पर्ने डरले भागेका हुन सक्छन्’–स्रोतले भन्यो ।

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घुस बुझाएको आरोप छ । उनले उक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुक्त राजनारायण पाठकलाई पठाइदिएका थिए ।

घुस प्रकरणको भिडियो टेप बाहिरिएपछि अख्तियारले तीन सदस्यीय टोली गठन गरी अनुसन्धान गरिरहेको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्