किन जाँदैछन् परराष्ट्रमन्त्री ज्ञवाली अर्जेटिना ? यस्तो छ कारण

काठमाडौँ, चैत ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अर्जेन्टिना जाने भएका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन ज्ञवाली आज त्यसतर्फ जान लागेका हुन्।

चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम छ। मन्त्री ज्ञवाली अर्जेन्टिनामा रहँदा विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत तय भएको जनाइएको छ।

सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक अधिकारीको समेत सहभागिता रहने छ। मन्त्री ज्ञवाली चैत ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्