अस्पताल वरपर मदिरा निषेध, सेवन गरे कडा कारवाही

काठमाडौं, चैत ३ । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ ।

स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन गरे कारवाही हुने भएको छ।

लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले क्लबको समन्वयमा सक्रियता बढाएर अनुगमन गर्न थालेपछि सोब्रुमा मदिरा निषेध अभियान प्रभावकारी बनेको छ ।

क्लबका पदाधिकारी, जनप्रतिनिधिसहितको उपस्थितिमा सोब्रु क्षेत्रका व्यवसायी र अगुवासँग छलफल गरेर कडाइका साथ नियम लागू गराइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

मदिराका कारण हिंसा र गैरकानूनी गतिविधि बढाएकाले नियन्त्रण अभियानमा प्रहरी जुटेको मल्लले बताए ।

‘‘जिल्लामा हुने अधिकांश घटना मदिराकै कारण सिर्जना भएको पाइयो’’ उनले भने, “त्यो अवस्था सुधारका लागि हामी प्रयत्न गरिरहेका छौँ ।”

प्रहरीले गाउँगाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर मदिराको उत्पादन बिक्री वितरण र सेवनमा ध्यान दिन सुझाव दिने गरेको छ ।

सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा आठ वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनको सहयोगमा लालुपाते क्लब सञ्चालनमा आएको हो ।

करीब पाँच वर्षअघि नै यो अभियान थालिएको भए पनि प्रभावकारी हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्