राप्रपाको आमसभा सम्पन्न ! अध्यक्ष थापाले सम्बोधन गर्दै भने-लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ !

काठमाडौँ चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको भृकुटीमन्डपमा आमसभा गरेको छ ।

राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापनमा मूल सडकमा सभा आयोजना गरिएको हो ।

सभालाई अध्यक्ष कमल थापासहित सो पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा विभिन्न झाँकीहरु प्रस्तुत् गरिएको थियो । राप्रपाका नेता–कार्यकर्ता, सुभेच्छुकलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची–महाकाली यात्रा सुरु गरेको थियो । शुक्रबार भक्तपुरको सूर्यविनायक हुँदै भृकुटीमन्डपमा पुगेर समापनसभा गरिएको हो ।

पार्टीले विभिन्न माग राख्दै मेची–महाकाली यात्रा सुरू गरेको थियो । यात्राकाक्रममा दुई हजार ८१० किलोमिटर दूरी पार गरेको जनाइएको छ ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् ।

अध्यक्ष थापाले काठमाडांमा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको बताएका हुन् ।

त्यस्तै उनले पहिला बन्दुक बोक्न लगाउनेहरुले हाल शहरमा ठुला महल बनाएको र बन्दुक बोक्नेहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै वर्तमान सरकारको चर्को आलोचना गरे । उनले राजादेखि विप्लवहरुसम्म अटाउने पार्टी राप्रपा भएको दाबी समेत गरे ।

अध्यक्ष थापाले विप्लवलाई सरकारले लगाएको प्रतिवन्धको प्रसंग कोट्याउँदै विप्लवलाई नभएर बालुवाटार र सिहंदरवार वरिपरि रहेका लुटेराहरुलाई प्रतिबन्ध लगाउन प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।

उनले सिके राउतसँग भएको सहमति राष्ट्रहितविपरित र रहस्यमय रहेको भन्दै सहमतिमा राउतले देश टुक्र्याउने काम नगर्ने भनेर नभनिएकोमा सरकारको कमजोरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्