क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने
काठमाडौँ, फागुन ३० । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ ।
महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् ।
प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्र्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिए ।
प्राध्यापक सङ्घ (पद्ममकन्या क्याम्पस) का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गरिन् ।
एक महीनादेखि क्याम्पस प्रमुखको पद खाली भएको पद्ममकन्या क्याम्पसका प्राध्यापकले सो पदमा महिला प्राध्यापक हुनुपर्ने माग गर्दै सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।
प्रा विमला नेपालले क्याम्पस प्रमुखमा महिला प्राध्यापक सुनिश्चित गर्नका लागि महिला प्राध्यापकले नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिईन।
–––
प्रतिक्रिया दिनुहोस्