अदालतमा बिचौलिया रोक्न प्रधानन्यायाधीश जबराको निर्देशन

काठमाडौं , फागुन ३० । अदालतमा बिचौलिया रोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएका छन्।

न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि जबराले न्यायाधीशलाई बिदा लिएर बाँकी रहेका फैसला लेख्न लिखित निर्देशन दिएका हुन्।

‘अदालतमा बिचौलियाका कारण सिर्जना हुनसक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिको पहिचान गरी अदालत प्रवेशमा रोक लगाउने सम्बन्धमा प्रभावकारीरूपमा कार्य गर्नू’ प्रधानन्यायाधीशको निर्देशनमा उल्लेख छ।

प्रधानन्यायाधीश जबराले अदालतमा बिचौलिया चिनेर रोक्न, न्यायाधीश र कर्मचारीको अनुशासनसमेत अनुगमन गरी प्रतिवेदन पेस गर्न मुख्य न्यायाधीशलाई अधिकारसहितको लिखित निर्देशन दिएका छन्।

स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय, प्रभावकारी न्याय सम्पादनको अपेक्षा पूरा गर्न इमानदारी र जवाफदेहिताका साथ कार्य गर्न उनले आग्रहसमेत गरे।

उनले न्यायपालिकाप्रतिको आस्था बढाउन त्यसको शाख कायम गर्न थप संवेदनशीलताका साथ भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। मुख्य न्यायाधीशलाई न्यायाधीशको अनुशासनमा समेत ध्यान दिन उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्