२३२ रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुल्दै: आवेदनको समय कहिले सम्म ?

काठमाण्डौ , फागुन २९ । २ सय ३२ रोजगार संयोजकका लागि भोलि फेरि आवेदन खुल्दै छ । सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुलाउने तयारी गरेको हो ।

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।

‘पुरानै प्रक्रिया र मापदण्डअनुसार बाँकी रहेका स्थानीय तहमा पदपूर्ति हुन्छ,’उनले भने, ‘सरकारले भोलि (बिहीबार) विज्ञापन खुल्दैछ, तर यो पालि १० दिनको मात्रै आवेदनको समय रहनेछ ।’

मन्त्रालयले रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो । २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।

प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।

परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । तर ७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्