मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

काठमाडौं,फागुन २९ । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब पाएका छैनन भने आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा पाएका छैनन् । त्यसैले उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सुरुङ निर्माण कार्यमा मजदूरी गरेका पूर्णबहादुर लामिछानेले कम्पनीसँग साढे सात महीनाको पारिश्रमिक नपाएको बताए ।

आफूले मजदूरी गरेको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि उनले आफ्नो पसिनाको मूल्य कसरी लिने भन्ने चिन्ता लागेको बताए।

उनको समूहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महीनासम्मको भुक्तानी लिन बाँकी रहेको छ ।

परिवारको रोजी रोटी जुटाउन समेत आफुहरुलाई धौ भएके अर्का मजदूर गुरुप्रसाद दुलाले दुखेसो गरे । कम्पनीले साढे पाँच महीनाको तलब नदिई गएको उनको भनाइ छ ।

मजदूरले आफूहरुको पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाको भएको बताएका छन् । आयोजनाले आफूहरुको पारिश्रमिक नदिई अर्को ठेकेदार छनोट गरेमा आयोजना अघि बढ्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

मजदूर मात्र हैन सिएमसीले ठेक्का तोडेर गएपछि आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ता पनि मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्