निजी विद्यालयलाई सेवामूलक संस्थाको रुपमा विकास गरिने मन्त्री पोखरेलको प्रतिवद्धता
काठमाडौं, फागुन २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय शिक्षालाई विशुद्ध सेवामूलक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार निजी विद्यालय शिक्षालाई सरकारले गैरनाफामूलक तथा विशुद्ध सेवामूलक संस्थाको रुपमा विकास गर्ने बताएका हुन् ।
उनले निजी विद्यालयहरुलाई सेवामूलक संस्थाको रुपमा विकास गर्दा त्यहाँ भएको लगानीको सुरक्षा राज्य आफैंले गरिदिने पनि स्पष्ट पारे ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन)को मंगलबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले निजी विद्यालयहरुलाई विशुद्ध सेवामूलक र सार्वजनिक विद्यालयको गुणस्तरलाई सबल बनाउन सरकार लागि परेको पनि स्पष्ट पारे ।
निजी विद्यालय शिक्षालाई गैरनाफामूलक बनाउनु राज्यको दायित्व भएको र त्यसो गर्दा लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्न पनि राज्य सचेत रहेको मन्त्री पोखरेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्