निजी अस्पतालका नर्सको तलब तथा भत्ता सरकारी सरह बनाउने तयारी

काठमाडौँ । निजी अस्पतालका नर्सको तलब तथा भत्ता सरकारी सरह बनाउने तयारी भइरहेको छ ।निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारी सेवामा रहेका नर्सहरुले पाएसरहको न्यूनतम तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन नीतिगत व्यवस्था गर्न लागिएको छ।

राष्ट्रिय नर्सिङ र मिडवाइफ्री नीति २०७४ को मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो। उक्त नीति मन्त्रिपरिषद बैठकमा पठाउने तयारीमा छ।

‘निजी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफ जनशक्तिको न्युनतम तलवमान र सुविधा नेपाल सरकार सरह हुनुपर्ने व्यवस्था लागु गरिनेछ,’ मस्यौदामा उल्लेख छ ।

यसअघि नर्सिङ क्षेत्रको समस्या समाधानका लागि गठित समितिले तत्कालिन स्वास्थ्य मन्त्री गगन थापालाई बुझाएको प्रतिवेदनमा पनि यस्तो सुझाव दिइएको थियो। निजी अस्पतालले नर्सलाई नियुक्ति दिँदा नै नियुक्ति पत्रमा तलब, भत्ता, सुविधा तथा ड्युटीको घन्टासमेत उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न प्रतिवेदनमा सुझाइएको छ। सोही सुझाबलार्इ नीतिमा समावेश गरिएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठन एवं श्रम ऐन, ०४८ को व्यवस्था अनुसार नर्सिङ जनशक्तिको तहगत रुपमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरी निजी स्वास्थ्य संस्थाहरुमा लागू गर्न पनि समितिले सुझाब दिएको छ।

‘यस्तै, समितिले नर्सको रात्रि ड्युटी भत्तालाई समेत बढाउन सुझाब दिएको छ। नर्सहरुले हाल रात्रि ड्युटी गरेबापत एक सय ५० रुपैयाँ भत्ता पाउने गरेका छन्। समितिले यो भत्तालाई बढाएर नर्सको एक दिनको तलब बराबर बनाउन भनेको छ।

नेपालमा हाल एक सय १७ नर्सिङ कलेजबाट हरेक वर्ष सात हजार ६ सय १० नयाँ नर्स उत्पादन भइरहेका छन्। तिनीहरुको रोजगारी र व्यवस्थापन हुन नसक्दा गम्भीर समस्या देखिँदै आइरहेको छ। काउन्सिलको तथ्यांक अनुसार हालसम्म नेपालमा अनमी र विदेशी नर्ससमेत गरी ७० हजारभन्दा बढी नर्स दर्ता छन्।

प्रतिक्रिया दिनुहोस्