सिके राउतसँगको ११ बुँदे सहमती अपारदर्शी र हचुवाका भरमाः मानव अधिकार तथा शान्ति समाज

काठमाडौं, २५ फागुन । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) र चन्द्रकान्त (सिके) राउतबीच भएको ११ बुँदे सहमतिबारे आपत्ती जनाउँदै आफ्नो आधिकारी धारणा सार्वजनीक गरेको छ ।
शुक्रबार सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतीमा आपत्ति जनाउँदै समाजका सभापति उत्तम पुडासैनीद्वारा हस्ताक्षरित तीन बुँदे विज्ञप्ति आज जारी गरेको हो ।

“सिके राउत र निज सम्बद्ध समुहले विखण्डनको अभियान र घृणाको शैली परित्याग गरेको हो भने स्वागतयोग्य मान्नुपर्छ । राउतले विखण्डनको अभियान परित्याग गरेको हो भने स्पष्ट प्रतिवद्धता उल्लेख हुनुपर्छ । तर, यस्तो भएको नपाईएकोले यस सहमति अपारदर्शी र हचुवा भरमा गरिएको सहमति हो ।” भनी समाजद्वारा जारी विज्ञप्तिमा भनीएको छ ।

समाजले सहमतिको दोस्रो बुँदालाई उद्धृत गर्दै सहमतिको आडमा सिके राउतले सामाजिक सञ्जाल फेसबुक मार्फत लगायत जनमत संग्रहमा सहमति भएको भनि गरिएको प्रचारप्रति आपत्तिजनक एवं निन्दनीय भएको जनाएको छ । यस्तो प्रचारका लागि ठाँउ दिएर सरकारले गम्भीर भुल गरेको समाजको ठहर छ ।

“यस्तो संवेदनशील विषयमा राज्यका तर्फबाट अपारदर्शी र दुरदर्शीता बिना मनगणन्ते ढंगले हचुवा भरमा सहमति भएको देखिन्छ । ” समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सिके राउत र निज आवद्ध समुहले विखण्डनको अभियान परित्याग गरेको हो वा होइन स्पष्ट पार्न पनि समाजले सम्बन्धीत पक्षलाई आग्रह गरेको छ ।

सरकार र सिके राउतबीचको सहमतीलाई विभिन्न कोणबाट टिकाटिप्पणी भईरहको छ । यसले राजनीतिक वृतमा तरंग उत्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्