फोरम र राजपाका शीर्ष नेतालाई किन बोलाइन् राष्ट्रपतिले शितलनिवास ?

काठमाडौं ।राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राखेकि छन् । उनले आइतबार संघीय समाजवादी फोरम र राजपा नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्दै छिन ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ । राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकि थिइन । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकि छन् ।

तर प्रमुख दलहरु आ–आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी छैनन् । सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ । एमालेले त्यसको विरोध गर्दै बहुमतीय प्रणाली हुनुपर्ने अडान लिइरहेको छ । नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै पास गर्नुपर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्