उमा रेग्मीको प्रश्न : श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?

काठमाडौं, फागुन २४ । नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म महिलाको सहभागिता पुरुषसरह बनाउनकालागि संघर्षको आवश्यकता रहेको औंल्याएकी छन् ।

विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको साक्षात्कारमा उनले अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभई आफूहरुको संघर्षले प्राप्त भएको दावी गरिन् ।

आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यकालागि सबै महिलाअधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।

‘शासक र शासित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?’ रेग्मीले प्रश्न गरिन् ।

उनले अमेरिकामा समेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइ नसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् ।

‘अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो,’ उनले भनिन् ।

रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन रु सरकारले नचाहेको हो, नसकेको होइन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्