अख्तियारको स्टिङ अप्रेशन : ८७ हजार घुससहित अधिकृत र सुब्बा एकै दिन पक्राउ

काठमाडौँ , फागुन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अप्रेशनका क्रममा बुधबार दुईवट कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट गएको टोलीले नेपालगञ्जस्थित दुईवटा सरकारी कार्यालयबाट दुईजनालाई घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकजना नेपालगञ्ज भन्सार कार्यालयका नायब सुब्बा र अर्का क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत रहेका छन् । यी दुवैलाई अख्तियारको टोलीले घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

अख्तियारको टोलीले नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्षमण चन्दलाई उनको कार्यालयबाटै ५२ हजार घुससहित पक्राउ गरेको छ ।

त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पुगेको अख्तियारको टोलीले त्यहाँका एकजना अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार सरकारी कार्यालयमा थालिएको स्टिङ अप्रशेनका क्रममा दुवैजना पक्राउ परेका हुन् ।

अख्तियारले केही समययता जनसम्पर्क बढी हुने कार्यलयमा अनुसन्धान अधिकारी पठाएर घुस, ढिलासुस्ती र अन्य लेनदेनमाथि कडा निगरानी राख्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्