गृहमन्त्री थापा सुदूरपश्चिममा: निर्मला हत्या प्रकरणबारे के भने ?

काठमाडौं, फागुन २२ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रहरी निकायले कमजोरी गरेको बताएका छन् ।

‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ । यो घटनामा सरकार गम्भीर छ’ बुधबार धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले भने ‘सुरुमा सुरक्षा निकायको लापरबाहीका कारण अहिले अनुसन्धानमा जटिलता पैदा भएको छ ।

यो प्रकरणले पनि समय लिएको छ । सरकार छिटो भन्दा छिटो अपराधिलाई कानुनको कठघरामा ल्याउन लागेको छ ।’

उनले केही समूहको विस्फोटन र ध्वंसात्मक गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै भने ‘यसलाई मुलभुतमा नियन्त्रण गरेका छौँ ।’

उनले सरकारले निर्माण व्यवसायीको सम्बन्धमा ठोस कदम उठाउने बताए । ‘ठेक्का लग्ने तर, निर्माण कार्यलाई अल्पत्र छाड्ने निर्माण व्यवसायी विरुद्ध सरकारले ठोस कदम लिन्छ,’ गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले सिन्डीकेट अन्त्य भइसकेको पनि दाबी गरे । ‘सिन्डीकेट कानुनी रुपमा अन्त्य भइसकेको छ । यो फर्किने भन्ने कुरा आएन’ उनले भने ‘यसलाई व्यवस्थित र व्यवस्थापन गर्ने सम्बन्धमा केही कानुनहरु अलिकति बाँझिदा समस्या भएको छ ।

’ उनले सिन्डीकेट सम्बन्धी केही कानुनहरु बन्ने क्रममा रहेको र बनिसकेपछि यो पूर्ण रुपमा अन्त्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्