नेपाल–बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता, दुवै देशलाई फाइदा पुग्ने विश्वास

काठमाण्डौ , फागुन २१ । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसैनले दुई देशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुवै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

यो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति त्यही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ । एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै देशले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन् ।

यसबाट दुवै देशलाई फाइदा पुग्ने राजश्व सचिव घिमिरले बताए । उनले दुवै देशबाट लगानीका लागि वातावरण बनाउन पनि यो सम्झौताले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन् । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई यो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ । बंगलादेशसँग दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो ।

नेपालले यो सम्झौता भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाइल्याण्डमा यस अघि नै गरिसकेको छ ।

जापान, अमेरिका, सिंगापुरलगायतका देशमा पनि त्यससम्बन्धी दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भइरहेको राजस्व सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्