नेपाली सेनाले स्थापना दिवस भव्यताकासाथ मनाउँदै, समारोहमा राष्ट्रपति ,प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहने

काठमाडौं,२० फागुन । आज महाशिवरात्री कै दिन नेपाली सेनाको जन्म दिवस पनि हो । नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहकाबीच महाशिवरात्री एवं सेना दिवस व्यताकासाथ मनाई रहेको छ । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता, प्रधानमन्त्री, प्रधानन्यायधिश, सभामुख, उप–सभामुख मन्त्रीगण तथा अन्य उच्चपदस्थ व्यक्तीहरुको उपस्थिति रहेको छ ।

जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिने ढकाल बताउँछन् ।

‘प्यारासुटको माध्यमबाट फ्रिफल जम्पको पनि प्रदर्शन गरिनेछ’, ढकालले भने, ‘७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ ।’

यसअघि सेनाले महाशिवरात्रीको पूर्वसन्ध्यामा निःशुल्क वृहत प्रदर्शनी कार्यक्रम समेत नेपाली सेनाले सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्