शिवरात्रीमा काठमाडौंका १० रुटमा गाडी चल्न रोक , पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं, फागुन १९ । सोमबार देशभरका शिवालयमा महाशिवरात्री मेला लाग्दै छ । शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए ।

‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’

पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।

पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

सोमबार पशुपति मन्दिरमा आयोजना गरिने महाशिवरात्री पर्वको सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा पाँच हजार स्वयंसेवक खटाउने जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक ९एसपी०को कमाण्डमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । ‘हाम्रो तर्फबाट १ हजार ३ सय सुरक्षाकर्मी खटिन्छन्’ सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) सुरज श्रेष्ठले भने, ‘पशुपति क्षेत्रमा खटिने हाम्रो सुरक्षकर्मीको कमाण्ड सशस्त्र प्रहरी उपरीक्षकले गर्नुहुन्छ ।’

सोमबार पशुपतिनाथमा देश–विदेशबाट करिब १० लाख भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको छ । आइतबार बिहानसम्म पशुपतिमा ८ हजारभन्दा बढी साधु सन्त आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्