भरतमोहन अधिकारीको शव यात्रा सुरु, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाण्डौ , फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीपश्चात पार्टी कार्यालय धुम्बाराहीबाट शव यात्रासहित पशुपति आर्यघाट लगिएको छ ।
पशुपति आर्यघाटमा अधिकारीको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिने छन् ।
यसअघि पार्टी कार्यालयमा राखिएको अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री ईश्वर पोखरेल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा वादल, कांग्रेस नेता रामचन्द्र पौडेलल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए।
ओली र प्रचण्डले पार्टीको झण्डा ओढाए
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्