कहिले र किन गर्ने त नियमित स्वास्थ्य जाँच ?

काठमाडौं । मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो, स्वास्थ्य । तैपनि धेरै मानिसले स्वास्थ्यलाई हेलचेक्र्याइँ गरिरहेका हुन्छन् । स्वास्थ्यलाई मेन्टेन गरिरहन र सम्भावित रोगबाट बच्नका लागि नियमित स्वास्थ्य जाँच गर्न जरुरी हुन्छ । कहिले र किन गर्ने त नियमित स्वास्थ्य जाँच ?

डा। प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ

झट्ट हेर्दा शरीर स्वस्थ देखिए पनि कतिपय रोगहरू सुषुप्त अवस्थामा रहेका हुन्छन् । जसले दीर्घकालीन रूपमा गम्भीर समस्या सिर्जना गर्न सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्दा लुकेर बसेको रोग पहिचान हुन्छ र समयमै त्यस्ता रोग निर्मूल पार्न सहज हुन्छ ।

नियमित स्वास्थ्य जाँचले आकस्मिक मृत्युबाट बच्न सकिन्छ अर्थात् यस्तो सम्भावनालाई कम गर्न सकिन्छ । मानिसको आयु लामो बनाउनका लागि पनि नियमित स्वास्थ्य जाँच आवश्यक हुन्छ ।

नियमित स्वास्थ्य जाँच गराउँदा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मुटुका रोग, उच्च रक्तचाप, डाइबिटिज, हर्मोन समस्या, मिर्गौलाका रोग, क्यान्सरलगायत अन्य सर्ने तथा नसर्ने रोगहरूका बारेमा अवगत हुन्छ । यस्ता प्रकृतिका रोगले लामो समयसम्म लक्षण नदेखाउन सक्छ ।

५ वर्षभन्दा कम उमेरमा नियमित स्वास्थ्य जाँच अनिवार्य छ । यो उमेरमा गराएको स्वास्थ्य जाँचले जन्मजात देखिने, बाल्यकालमा लाग्ने र पोषणसम्बन्धी रोगबारे जानकारी हुन्छ र यसलाई निर्मूल पार्न सहज हुन्छ ।

पाँचदेखि ३० वर्षको उमेरभित्र कम्तीमा एकपटक स्वास्थ्य जाँच गर्नुपर्छ । किनभने उमेर बढ्दै जाँदा एक्लोपन, डिप्रेसन, शारीरिक विकासबारे थाहा पाउन सकिन्छ ।

४० वर्षपछि पनि कम्तीमा एकपटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसो गर्दा उमेर, वंशाणुगत र जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याबारे थाहा हुन्छ । यद्यपि, ४० वर्षपछि ६–६ महिनामा चिकित्सकलाई भेटेर स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ ।

नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्