मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा गरिने

काठमाडौ, १६ फागुन । बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।

कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

मन्त्री अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि गृह मन्त्रालयको निर्णय पछि काठमाडौ खुलामञ्चमा सम्मानका लागि लगिने स्वकीय सचिव आचार्यले जानकारी दिए ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ । बिहीबार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्