भारत र पाकिस्तानबीच तनाव: नेपालको सीमा क्षेत्र र विमानस्थलमा बढाईयो थप उच्च सुरक्षा सतर्कता

काठमाडौं, फागुन १५ । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको बताए ।

‘गलत मान्छेको आवतजावत नहोस् भनेर पनि सतर्कता अपनाइएको हो । यस्तो अवस्थामा अपराधिक गतिविधिमा संलग्नले पनि फाइदा उठाउन सक्ने सम्भावना हुन्छ’, सुवेदीले भने, ‘त्यसैले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएका हौं ।’

उनका अनुसार कोही शंकास्पद मानिसहरु फेला पर्ने वित्तिकै तत्काल नियन्त्रणमा लिनसमेत निर्देशन दिइएको छ ।

यसअघि मंगलबार भारतीय वायु सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।

बुधबार नियन्त्रण रेखा ९एलओसी० पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । उसले एक जना पाइलटलाई पनि पक्राउ गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्