सवारी दुर्घटना कम गर्न ४८ हजार चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिइदै
काठमाडौ, १२ फागुन । सडकको सवारी दुर्घटना कम गर्नका लागि ४८ हजार चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सवारी दुर्घटनालाई न्यूनीकरणका लागि प्रशिक्षण दिने भएको हो ।
पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सङ्गठनले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
सातै प्रदेशमा रहेका सवारी साधनको चालक र सहचालकलाई सडक अनुशासन तथा ट्राफिक नियमबारे भरपुर जानकारी गराउछौ , यसले दुर्घटनामा कमि आउछ भनेर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए । उनी भन्छन् नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटना देखेर उक्त अभियान संचालन गर्न लागिएको हो ।
सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदूर सङ्गठनमध्ये प्रत्येक महिना एकपटक न्यूनतम २० जना चालक तथा सहचालकलाई जम्मा गरेर ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने भएको छ ।
अभियान अन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु लगायतका वाक्यहरू प्रयोग गरिएका छन् ।
यस्तै, यातायात मजदूरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५०० देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताउछन् । “सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुनेछ”, उनी भन्छन् । सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने उहाँको भनाइ छ ।
यातायात व्यवस्था विभागका तथ्यांक अनुसार अहिले देशभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्