सचिवले किन गरे झुटो दाबी? विद्युतीय बस चीनमै बनेको पाइयो !

काठमाडौं, फागुन १२ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भाsरतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ ।

नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए ।

उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए । सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेड चीनमा बनेका पाँचवटा विद्युतीय बस अहिले नक्सालस्थित ग्यारेजमा थन्काइएका छन् । देवकोटासहितका अधिकारीले बसमा प्राविधिक कमजोरी भएको भन्दै सञ्चालनमा ल्याउन इच्छा नदेखाएपछि बस थन्किएका हुन् ।

मन्त्रालयले अगस्ट २१ २०१८ मा भैरहवा भन्सार कार्यालयलाई लेखेको पत्रमा चीनबाट आयात गरिएका बसको भन्सार चुक्ता गरिएको जनाइएको छ । यस विषयमा सचिव देवकोटासँग सम्पर्क गर्दा उनले बोल्न अस्वीकार गरे। उनले मन्त्रालयसँग सम्बन्धित विषयमा अब आफ्नो कुनै चासो नरहेको बताए ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्