अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने

काठमाडौ, फागुन १२ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो ।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याएको हो । ‘अहिले १३ जिल्लाका २० विद्यालयमा नर्स राखिएको छ,’ प्रदेश ३ को सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन गैरेले भनिन्, ‘नेपालको इतिहासमै पहिलोपटक सामुदायिक विद्यालयमा यस्तो सेवा सुरु भएको छ ।’

विद्यालयमा नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने गर्छन् । यस्तै, व्यक्तिगत÷वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने उनीहरूको जिम्मेवारी हुन्छ । स्वास्थ्य जटिल भए थप उपचारका लागि अन्यत्र पठाउनुपरे स्वास्थ्य संस्थासँग समन्वय गरिदिनुपर्छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्